प्रिय विद्यार्थीहरू, शिक्षक साथीहरू, अभिभावकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकहरू !
नमस्कार !

आजको आधुनिक युग डिजिटल प्रविधि र सूचनाको युग हो। शिक्षा र सिकाइ प्रक्रियालाई समयसापेक्ष, पारदर्शी र प्रभावकारी बनाउन प्रविधिसँग जोड्नु आजको प्राथमिक आवश्यकता बनिसकेको छ। यही सोचका साथ मैले यो व्यक्तिगत वेबसाइटको सुरुआत गरेको हुँ ।
वेबसाइट निर्माणको पृष्ठभूमि र उद्देश्य:
मेरो १५ वर्षे शिक्षण अनुभवका क्रममा मैले विद्यार्थीहरूले उपयुक्त शैक्षिक सामग्री, अभ्यास पुस्तक तथा सूचना समयमा नपाउँदा भोग्नुपरेका विभिन्न अभाव र चुनौतीहरूलाई नजिकबाट नियाल्ने मौका पाएँ। विगतमा जे-जस्ता शैक्षिक अभाव र कठिनाइहरू देखा परे, ती समस्याहरू अबका विद्यार्थी तथा शिक्षकहरूले भोग्नुनपरोस् भन्ने पवित्र हेतुले नै यो डिजिटल प्लेटफर्म तयार पारिएको हो ।
यस वेबसाइटमा तपाईंहरूले के-के पाउनुहुनेछ ?
- विद्यार्थीहरूका लागि: अध्ययनसँग सम्बन्धित पाठ्यसामग्री, नोट्स, अभ्यास प्रश्नोत्तर, मोडल प्रश्नहरू, परीक्षा सम्बन्धी सूचना तथा सिकाइका उपयोगी स्रोतहरू सहज रूपमा प्राप्त गर्न सकिनेछ। विशेषगरी गणित विषयका सामग्रीहरूलाई सरल र बोधगम्य रूपमा उपलब्ध गराइनेछ ।
- शिक्षक–शिक्षिका साथीहरूका लागि: कक्षा शिक्षणका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (Teaching Materials), पाठ्यक्रम, मोडल प्रश्नपत्र, र डिजिटल शिक्षण विधिहरूबारे उपयोगी सामग्रीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।
- अभिभावक तथा शुभेच्छुकहरूका लागि: शैक्षिक गतिविधि, महत्वपूर्ण सूचना तथा बालबालिकाको सिकाइ उन्नतिमा सहयोग पुग्ने परामर्शदायी सामग्रीहरू घरमै बसेर अध्ययन गर्न सकिनेछ ।
मेरो प्रतिबद्धता: यो वेबसाइट केवल एक स्थिर सूचनापाटी मात्र नभई निरन्तर अद्यावधिक भइरहने डिजिटल सिकाइ केन्द्र हो। यहाँ उपलब्ध शैक्षिक सामग्रीहरू, सूचनाहरू र शिक्षण-सिकाइका विषयवस्तुहरूलाई समयसापेक्ष परिमार्जन, परिमार्जित पाठ्यक्रम अनुसार अध्यावधिक (Update) र थप गर्दै लैजाने मेरो पूर्ण प्रतिबद्धता छ ।
अन्ततः, यो वेबसाइट मेरो १५ वर्षे अनुभवको निचोड र प्रविधिलाई शिक्षासँग जोड्ने एक सानो प्रयास हो। यसलाई अझ उपयोगी, व्यवस्थित र प्रभावकारी बनाउन तपाईंहरूको निरन्तर भ्रमण, रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु। वेबसाइटमा सुधार गर्नुपर्ने वा थप्नुपर्ने कुनै विषय देखिएमा सुझाव खण्डमार्फत आफ्ना विचारहरू साझा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
तपाईंहरूको साथ, सहयोग र निरन्तर भ्रमणको अपेक्षासहित!
धन्यवाद !
-केश वहादुर तमाङ